Tuesday, May 31, 2011

पन्ध्रअसारमा रोपाइँ साहित्य

आश गुरुङ 'प्रतीक'
Lamjung ma Asar 15 manaudai
Asar 15 ma national dhan day manaudai lamjung ma लमजुङ, असार १५ गते ।
कार्यक्रम रोपाइँ साहित्य
ठेगानाः तार्कुघाट-५, पाङ्ग्रेटार, लमजुङ
अवसरः राष्ट्रिय धान दिवस
समयः दिनको १२ बजे ।


कहिले टन्टलापुर घाम त कहिले सिमसिमे पानी । सायद मनसुन भित्रिको धेरै समय नभएर होला लमजङको तार्कुघाटलाई ढाक्ने वातावरण छिनछिनमा फेरवदल भईरहेको थियो । मौसमले जति फेरबदलको वहाना बनाएपनि रोपाइँमै साहित्य भर्न गएका साहित्यकारलाई कुनै कष्ट भएन । सदरमुकाम वेसीशहरवाट विहान गएका साहित्यकारहरुले दिउँसो ठिक १२ बजेदेखि रोपाइँसंगै साहित्य बाचन गर्न थाले ।
असारमा खाने दुधिला मकै साउनमा खाने खीर
घरमा छैन शितलु बचन, मनमा छैन थिर ।
आज नि रोपाइँ भोलि नि रोपाइँ पर्सि नि जानु छ
ससुरा बा को अमिलो बचन पेटभरि खानु छ ।
उनीहरुले गीत गुञ्जाउँदै गर्दा स्थानीयवासिन्दाले चाख मानेर हेरिरहेका थिए । साहित्यमय बनेको पाङ्ग्रेटारको खेतैभरि गीत, गजल, कविता, मुक्तक लगायतका रचना बाचन गर्दा सवै छक्क परेका थिए ।
१५ असार चटारो छ, मौका यै हो छोप्नुपर्छ
दिदीबैनी दाजु भाइ खेतमा धान रोप्नुपर्छ
हिलो खेल्दै बीउ रोपौं मंसिरमा फल्छ धान
ठूला गरा, साना सोता, छेउ कुना कोप्नुपर्छ



खेतमा पञ्चेबाजा घन्किरहँदा, बाउसे र रोपारेहरुबीच जुहारी चलिरहेको थियो, अनि माथिल्लो गरामा ब्याडे अनि लाठेहरु -आली लगाउने) हरुबीच हिलो छेपाछेप गर्दाको रमाइलो भने झन छुट्टै थियो । गोरु जोत्नेहरु कोही ह.. ह.. माले, ह....ह तारे गर्दै खेतका गरा हिलाउँदै थिए भने कोही भने दाँते लगाएर हलगोरु दौडाउँदै थिए ।


कृषि विकास कार्यालय लमजुङ र हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङको संयुक्त आयोजनामा भएको कार्यक्रममा सदरमुकाम बेसीशहर, भोटेओडार, चिती, सुन्दरबजार, गाउँशहर लगायतका विभिन्न स्थानबाट पचार बढी साहित्यकार साथै तीनसय बढी साहित्य अनुरागीहरुको उपस्थिति थियो । कार्यक्रमलाई स्थानीय किसान, सरकारी कार्यालयका प्रमुखहरु, संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थितिले कार्यक्रमको मज्जा छुट्टै भएको थियो । वर्षौदेखि असारे भाकाका गीत सुन्न नपाएका उनीहरु असारे भाकामा लठ्ठ मात्र परेनन्, खेतका गरामा हिलो छेप्दै १५ असारको मेलो पनि सघाएका थिए ।
Lamjung ma asar 15 manaudai



नजिकै अर्को गरामा हिलो छेप्दै साहित्यकारहरु कविता, गीत तथा गजलहरु बाचन गर्दै थिए । कवि गोविन्दबहादुर कुँवर, हिमालचुली कला साहित्य प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरे, युवा साहित्यकारहरु बेनबहादुर सुयल, श्रीकृष्ण नेउपाने, बाबुराम बैरागी, नबराज दाहाल लगायत दर्जर्नौ साहित्यकारहरुले आ-आफ्ना रचनाहरु बाचन गरेका थिए । रचनाहरु पन्ध्रअसार र कृषिसँग सम्बन्धित थिए । नेपाली साहित्यले कृषिसंग अभिन्न साइनो राख्ने र कृषि क्षेत्रले पनि साहित्यसंग सम्बन्ध राख्ने हुनाले रोपाइँका अवसरमा साहित्यिक कार्यक्रमको आयोजना गरिएको हिमालचुली कला साहित्य प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरेले बताए ।


राष्ट्रिय धान दिवस र रोपाइँ साहित्यको उद्घाटन वरिष्ठ साहित्यकार गोविन्द बहादुर कुँवरले गरेका थिए । जिल्ला कृषि कार्यालयले एस आर आइ प्रविधिको धान खेती गर्ने तरिका बारे किसानलाई सिकाएको थियो । यो प्रविधिको खेतीले धान यत्पादनमा पाँच गुणाले बृद्धि हुने कृषि प्रमुख कृष्ण प्रसाद अधिकारीले बताए ।

Posted on:June 29, 2009, 9:46 pm

No comments:

Post a Comment