Tuesday, May 24, 2011

पढाउने वेलामा आफैँ पढ्दै लमजुङका शिक्षकहरु

आश गुरुङ 'प्रतीक',
Teachers are Studyingलमजुङ, चैत १७ गते ।
सँधै विद्यार्थीलाई पढाउँदै आएका लमजुङका शिक्षक शिक्षिकाहरु अहिले आफैँ पढ्न थालेकाछन् । प्रवेशिका पासभएपछि पढ्ने धोको हुँदा हुँदैपनि विविध कारणले पढ्न नपाएका उनीहरुले एकातिर पढ्ने रहर पुरा गर्न थालेका छन् भने अर्कोतर्फविद्यार्थीलाई गुणस्तरीय शिक्षा पनि प्रदान गर्न उनी पढ्न थालेका हुन् ।
सँधै विद्यालयमा जाँदै, चक र डस्टरसंगै विद्यार्थीसंग दिन विताउने गरेका लमजुङका शिक्षकशिक्षिकाहरु पछिल्लोपटक आफैँ कम्मर कसेर पढ्ने गरेकाछन् । पहिले विविध कारणवस पढ्न नपाएका शिक्षकशिक्षिकहरु अहिले हरेक विहान हातमा कापीकलम र किताव लिएर पढ्न जाने गर्छन् । 'पढ्नु त एक राम्रो हो' खुसीले गद्गद् हुँदै चन्द्रोदय प्राथामिक विद्यालय उदीपुरकी शिक्षिका सम्झना अधिकारी भन्छन्, 'शिक्षा त सँधै रही रहने कुरा हो, पढेर धेरै फाईदा छ ।' उनले १६ वर्षखि एसएलसी पास गरेपनि उच्च माविको शिक्षा लिन भने यसपटकमात्रै पाएकीछन् ।
आफ्नो जाँगर र चाहनाको अगाडि उमेर कहिल्यै वाधक वन्दैन भन्ने तथ्यलाई सावित गरेकाछन् शिक्षकशिक्षिकाहरुले । लमजुङको भोटेओडारस्थित भक्ति नमुना उच्च माध्यमिक विद्यालयलाई पढनकै लागि प्रयोग गरेका शिक्षकशिक्षिकाहरुको उमेर भन्ने हो भने ५०/५५ वर्षको छ । उमेर जतिसुकै किन नहोस, यसलाई उनीहरुले मौकाको रुपमा हेरेकाछन् । 'यसलाई मौकाको रुपमा हेरेका छौँ', 'शुक्र प्राथामिक विद्यालय अर्चलवोटका शिक्षक श्रीकृष्ण न्यौपाने भन्छन्, 'यसले विद्यार्थीहरुलाई पढाउन समेत निकै टेवा मिल्नेछ ।'
दिउँसो विद्यालयमा गएर दिन विताएपछि विहानवेलुकाको सयमलाई सदुपयोग गरेर शिक्षकशिक्षिकाहरुले नयाँ काम त गरेका छन् नै, आफ्नो दिमागपनि वलियो पारेकाछन् उनीहरुले । त्यसो त सँधै विद्यार्थीलाईमात्रै पढाउँदै आएका शिक्षका चिजा थापा उमेरले आफूसरहलाई पढाउँन पाउँदा सजिलोको अनुभूति गर्छन् ।
पढ्नका लागि शिक्षकशिक्षिकाहरुले पैसा तिर्नु त पर्छ नै, एकवर्षछि उनीहरुले उच्च माध्यमिक शिक्षा परिषद्वाट कक्षा १२ को परीक्षा पनि दिन पाउनेछन् । विद्यार्थीलाई पढाउने शिक्षकशिक्षिकाहरुको क्षमता अभिबृद्धिका लागि सरकारी नीति अनुरुप ल्याईएको यस्तो कार्यक्रमवाट विशेषत प्राथामिक शिक्षाको १० महिने तालिम प्राप्तहरुका लागि हो । उनीहरुले पढ्ने गरेको पाठ्यक्रम सवै उच्च मावि शिक्षा परिषद् अर्न्तर्गत कक्षा १२ को हो । त्यही पाठ्यक्रमको विषयलाई समय मिलाएर उनीहरुलाई आ-आफ्नो अनुकुलको सयम मिलाएर पढाउने गरेको भक्ति नमुना उच्च माध्यमिक विद्यालयका निमित्त प्राचार्य किरण कुँवर वताउँछन् । उनका अनुसार छिमेकी विद्यालयका शिक्षकशिक्षिकाहरुलाई शनिवार बाहेक हरेक दिन विहान साढे ६ देखि ९ बजेसम्म र टाढाकालाई शनिवार १० बजेदेखि ४ बजेसम्म सयम मिलाईएको छ । विद्यालयमा ६० जना शिक्षकशिक्षिकाहरु भर्ना भएकाछन् ।
के खोज्छस् कानो आँखो भनेझै सरकारले एसएलसी पास गरेर अध्यापन गर्दै आएका शिक्षकशिक्षिकाहरुका लागि कक्षा १२ पास गराउन ल्याएको शिक्षा नीति एकतरिकाले स्वागतयोग्य छ । दशमहिने प्राथामिक शिक्षाको तालिमप्राप्त शिक्षकशिक्षिकाहरुले अब पढ्ने अवसर मात्रै नभएर आ-आफ्ना विद्यालयका विद्यार्थीहरुलाई पनि गुणस्तरीय शिक्षा दिनेछन् ।

Posted on:March 30, 2009, 5:43 am

No comments:

Post a Comment