Tuesday, May 24, 2011

मनोज गजुरेलले ततायो लमजुङ महोत्सव

आश गुरुङ 'प्रतीक'
लमजुङ, फागुन २ गते ।
मनोज गजुरेल र हवनकलीलमजुङको सदरमुकाम वेसीशहरमा आयाजित 'लमजुङ महोत्सव २०६५' मा दर्शकहरुको ओईरो लागिरहेको थियो । कार्यक्रममा मनोज गजुरेल आउने भनेपछि लमजुङका वासिन्दा एकाएकगरि महोत्सवस्थलमा आफ्नो ठाउँ ओगट्नतर्फलागे । उनको पर्खाइमा वसेका दर्शकहरु उनी नआएपछि बाहिरिएका समेत थिए । सवैको आँखा मञ्चतिर मात्रै केन्द्रित थियो । एक्कासी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भेषमा मनोज गजुरेल मञ्चमा उभिए । कसैले चिनेनन् उनलाई, सवैले भने 'मनोज गजुरेल भनेको त प्रचण्ड पो आएछ ।' दर्शकदीर्घ कोही रिसाए, कोही छक्क परे ।
आफ्नो प्रस्तुति संगै मञ्चमा उपस्थित मनोज गजुरेल खैरो पाईन्ट र खैरो कोटसहित कालो टोपी र चश्मा लगाएर प्रचण्डको 'क्यारीकेचर' गर्न तम्सिए । सवैले ताली पिटे । उनले आफ्ना प्रस्तुति देखाउँदै गर्दा दर्शकहरु कोही मन्त्रमुग्ध थिए त कोही टोलाएका थिए । उनलाई साथ दिएका थिए, हवनकली नामले परिचित पोखराका शुष्मा पौडेलले । कार्यक्रम थियो, कुराकानी अर्थात अन्तरवार्ताको । संचारकर्मी भन्दै हवनकलीले प्रश्न तेर्स्याइरहँदा मनोज गजुरेलको जवाफले दर्शकहरु हाँस्दा हाँस्दै हैरान परेका थिए । उनको क्यारिकेचरले दर्शकमात्रै हाँसेनन्, उनको गार्ड र वाईसीएल बनेका अर्का कलाकार सन्तोष बस्नेतलाई पनि हाँसो खपि नसक्नु भएको थियो ।
गजुरेलले एघार वर्षो जनयुद्ध पछि सरकारको नेतृत्व गर्न समेत पुगेका प्रचण्डको जस्तै अभिनय गरेर उपस्थित दर्शकहरुलाई पेट मिचिमिचि हँसाएका थिए । गजुरेलले प्रचण्डको कुनै पनि अभिब्यक्ति दिँदाको 'मने.....मने' थेगोलाई विशेष रुपमा प्रस्तुत गरेका थिए । प्रचण्डको कुम हल्लाउने देखि लिएर मुख हल्लाउने, भाषणमा गरिने हातका इशारको नक्कल, सम्मेलनमा गरिने क्रियाकलाप तथा नक्कललाई दर्शकसामु पस्काएका थिए । कहिले शारीरिक हाउभाउमार्फ तथा कहिले वोलीको माध्यमवाट प्रचण्डको नक्कल गर्न खप्पिस गजुरेलले करीव आधा घण्टा दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । कसैकसैले भने उनी गजुरेल भएको पत्तै पाएनन् । आफ्नो प्रस्तुति सकिएपछि दर्शक अगाडि आएर अभिवादन गरेको दृश्य निकै रोचक थियो ।
गत शुक्रवारवाट शुरु भएको लमजुङ महोत्सव २०६५ मा मनोज गजुरेल निकै आकर्षणको केन्द्रविन्दुमध्ये एक भयो ।
महोत्सवमा औद्योगिक तथा ब्यापारिक प्रदर्शनी, हस्तकला तथा घरेलु प्रदर्शनी, कृषि मेला प्रदर्शनी, बाल उद्यान, सरकारी तथा गैरसरकारी कार्यालयका गतिविधि प्रदर्शनी, पुष्प प्रदर्शनी गरिएकाछन् । त्यस्तै, प्याराग्लाईडिङ, आन्तरिक पर्यटन प्याकेज टूरका कार्यक्रमहरु राखिएकाछन् ।
उद्योग, ब्यापार, पर्यटन र कृषिको प्रवर्द्धन, लमजुङको कला, सीप र सांस्कृतिक संरक्षण भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव फागुन ४ गते सकिँदै छ । महोत्सव लमजुङ उद्योग बाणिज्य संघ र जिल्ला विकास समिति लमजुङको संयुक्त आयोजनामा भईरहेको छ ।

Posted on:2009-02-13 06:36:24

No comments:

Post a Comment