Thursday, May 19, 2011

लमजुङको 'नमूना' पुस्तकालयमा पाठकको भीड

आश गुरुङ 'प्रतीक'
लमजुङ, माघ १६ गते ।
पहाडी जिल्ला लमजुङमा व्यवस्थित र नमुनाको रुपमा संचालन गरिएको पुस्तकालयमा अहिले पाठकहरुको निकै भीड लागेको छ ।
सदरमुकाम वेसीशहरमा स्थापना गरिएको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयमा दैनिक ६० देखि ८० जना पाठकहरु आउने गरेकाछन् । २०२८ सालमा स्थापना भई वन्द अवस्थामा रहेको पुस्तकालयलाई २०५४ सालमा पुनर्स्थापना गरिएको थियो । गत बर्ष बेसीशहर गाउँ विकास समिति वडा नं. ९, झिङ्गेखोलमा रहेको सार्वजनिक जग्गामा अन्तराष्ट्रिय गैरसरकारी संस्था रिड नेपाल, जिल्ला विकास समिति लमजुङ, स्थानीय गाविस तथा विभिन्न संघसंस्थाको आर्थिक सहायोग गरि झण्डै ४० लाख रुपैयाँको लागतमा पुस्तकालयको भवन निर्माण गरिएको थियो । सुविधा सम्पन्न तीनतले भवन निर्माण गरिएपछि पुस्तकालय व्यवस्थित रुपमा सञ्चालन हुन थालेको हो । स्थापनाकालको शुरुवाती दिनमा दैनिक १५/२० जना पाठकहरु आउने गरेकोमा अहिले हृवात्तै बढेको पुस्तकालय ब्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद नेउपाने वताउँछन् । पुस्तकालयमा बालबालिका देखि बृद्धबृद्धाहरुमेतले अध्ययन गर्ने गरेकाछन् ।
पुस्तकालयमा सामान्य ज्ञान, धर्म, दर्शन, विज्ञान, सामाजिक विज्ञान, भाषा साहित्य, राजनीति, मनोविज्ञान, कला, इतिहास, भूगोल लगायतका विषयका सातहजार भन्दा बढी पुस्तक, राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरु राखिएका छन् । तीनतले भवनको माथिल्लो तलामा पुस्तकालय सञ्चालन गरिएको छ । पुस्तकालयमा बाल कक्षा, श्रव्य दृष्य कक्षा, अध्ययन कक्षा, सूक्ष्म अध्ययन कक्ष लगायतको व्यवस्था छ । निकट भविष्यमै पुस्तकालयलाई पूर्ण रुपमा सूचना केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको पुस्तकालयका अध्यक्ष नेउपानेको भनाई छ ।
बिहान १० बजेवाट साँझ ५ बजेसम्म खुल्ने सो पुस्तकालयमा विशेष गरी स्कूल तथा क्याम्पसका विद्यार्थीहरु अध्ययन गर्न आउने गर्छन् । कतिपय विद्यालयले शैक्षिक भ्रमण गर्न विद्यार्थीहरुलाई सो पुस्तकालयमा ल्याउने गरेका गरेका पुस्तकालयकी कर्मचारी विष्णु गुरुङ वताउँछिन् । बालबालिकालाई पढ्नेदेखि खेल्ने सामाग्रीहरु समेत पुस्तकालयमा उपलब्ध भएका कारण उनीहरु पुस्तकालयतर्फआकषिर्त भएको उनको भनाई छ ।

Posted on:January 29, 2009, 3:54 am

No comments:

Post a Comment