Monday, June 20, 2011

पूल चुडिन लागेपछि पर्यटकलाई समस्या

आश गुरुङ 'प्रतीक'
आश गुरुङ 'प्रतीक', लमजुङ, मंसिर १४ गते ।
उत्तरी लमजुङको खुदी र भुलभुले जोड्ने मर्स्याङदी नदीमाथिको फलामे झोलुङ्गे पूल जीर्ण बनेको छ ।
झोलुङ्गे पूलको मुख्य लठ्ठा खिया लागेर चुडिन लागेको र पूल कोल्टे परेपछि जिल्ला विकास समिति लमजुङले आवतजावतमा रोक लगाएको छ ।
पूलमा आवतजावतमा रोक लगाएपछि त्यस क्षेत्रका भुलुभुले, खुदी, बाहुनडाँडा, घेर्मु लगायतका गाविसका बासिन्दा समस्यामा परेकाछन् । उनीहरुको सदरमुकाम लगायत अन्य क्षेत्रमा आउनेजाने क्रियाकलाप बन्द भएको छ । आवत जावतमा रोक लगाएपछि अन्नपूर्ण पदयात्रा घुम्न गएका पर्यटकहरु बैकल्पिक मार्ग खोजेर हिड्न बाध्य छन् । हाल पुलमा एक पटकमा एकजनालाई मात्र आवतजावत गर्न दिइएको छ ।

पूल जीर्ण बनेपछि अध्ययन गरेको ट्रेलब्रिज सपोर्ट युनिट र जिल्ला प्राविधिक कार्यालयको टोलीले स्थलगत अध्ययनपछि पनि पूलको निर्माण तथा मर्मत नथालेको भन्दै स्थानीयवासिन्दा आक्रोसित बनेकाछन् । पूलको जीर्णोद्धार हुन नसक्दा स्थानीयवासिन्दाले दैनिक उपभोग्य सामाग्रदेखि खाद्यान्न समेत अर्कै वाटो प्रयोग गरि गाउँमा भित्र्याउन बाध्य छन् ।
स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलले दुर्घटना नहोस् भनि सो पूल भएर आवत जावत नगर्न आग्रह गरिएको बताएकाछन् । जिल्ला विकास समितिको कार्यालयले सो पूलको मर्मत कार्यको लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको जनाएको छ ।




Mail to: आश गुरुङ 'प्रतीक'

Posted on:November 30, 2010, 8:36 pm

No comments:

Post a Comment