Monday, June 20, 2011

लमजुङको बेसीशहरमा सत प्रतिशत शुद्ध खानेपानी वितरण शुरु

आश गुरुङ 'प्रतीक'
लमजुङ, मंसिर १४ गते ।
लमजुङको सदरमुकाम बेसीशहर साथै वरपरका वासिन्दालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको बेसीशहर खानेपानी गुणस्तर सुधार आयोजनाको निर्माणकार्य पुरा भएको छ ।
पश्चिमाञ्चलकै उत्कृष्ठ मानिएको खानेपानी आयोजना सम्पन्न भएसंगै अहिले बेसीशहर तथा असपासका घर घरमा शतप्रतिशत सुद्ध खानेपानी उपलब्ध हुन थालेको छ । देशका विभिन्न भागमा खानेपानीको हाहाकार हुँदै गर्दा र कतिपय स्थानमा विषाक्त पानी कारण मानिसहरु विरामी परिरहेको खबर आउँदै गर्दा बेसीशहरका वासिन्दाले भने सतप्रतिशत शुद्ध खानेपानी पिउन मात्र होइन, त्यही पानीले लुगा धुन र नुहाउन समेत पाउन थालेका छन् ।
नेपाल सरकारको ८० प्रतिशत र स्थानीय उपभोक्ताको २० प्रतिशत सहभागिता गरी एक करोड ९० लाख ७४ हजार रुपैँयाको लागतमा आयोजनाको निर्माण गरिएको हो । बेसीसहरको ठुलोपँधेरोमा निर्माण गरिएको खानेपानी प्रशोधन केन्द्रको काम सकिएपछि बेसीशहरका १ हजार ६ सय घरमा अहिले शुद्ध खानेपानी उपलब्ध हुन थालेको वेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बामदेव अधिकारीले जानकारी दिएकाछन् ।
खानेपानी प्रशोधन केन्द्रले प्रतिसेकेण्ड १७ लिटर पानी प्रशोधन गर्ने छ । स्थानीय डुँढखोला, लप्लेखोला र महभिरखोलाबाट ल्याइएको पानी प्रशोधन केन्द्रमा खसालिएको छ । प्लेन सेडिमेन्टेशन, रफिनिङ फिल्टर लगायतका पद्दतिबाट खोलाबाट ल्याईएको पानीलाई प्रशोधन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लमजुङका इन्जिनियर कमल अर्यालले जानकारी दिएकाछन् । हाल बेसीशहरमा डुँडखोला, लप्लेखोला र महभीर खोलाबाट खानेपानी ल्याइएको छ ।

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार ५ बर्षभत्र १० हजार भन्दा बढी जनसंख्या भएका सबै जिल्ला सदरमुकाममा गुणस्तरयुक्त खानेपानी उपलब्ध गराउने सरकारी कार्यक्रम अनुसार बेसीशहरमा खानेपानीको गुणस्तर सुधार गरिएको हो । बेसीशहरका उपभोक्ताले हालसम्म मुहानबाट आएको पानी सिधै उपभोग गरिरहेकामा अब मुहानबाट आएको पानी प्रशोधन भइ सत्प्रतिशत शुद्ध भएछि मात्र सेवन गरिरहेका छन् । इन्जिनियर अर्यालका अनुसार मुहानबाट आउने पानी शुरुमा प्लेन सेडिमेण्टेसन ट्याङ्कमा खस्छ । यसमा गुरुत्वाकर्षा शक्तिको मद्दतले पानीमा रहेको धमिलोपनलाई थेग्रयाइन्छ । यसमा खसेको पानी ३ घण्टा पछि मात्र अर्को ट्याङ्कीमा खस्छ र दोस्रोमा खस्दासम्म पानीमा रहेको ७० प्रतिशत धमिलोपन हटेको हुन्छ । पहिलो ट्याङ्कीबाट छानिएको पानीलाई पुनः दोस्रो पटक रफिङ फिल्टर चेम्बरमा फिल्टर गरी पानी छानिन्छ । यसो गर्दा बाँकी रहेको ३० प्रतिशत धमिलोपन हट्ने र करीब ५० प्रतिशत ब्याक्टेरिया पनि घट्ने अर्यालले वताए । सङ्लिएको सो पानीलाई स्लो स्याण्ड फिल्टर प्रविधिबाट पुनः बालुवाको माध्यमले विस्तारै फिल्टर गरिन्छ । यसो गर्दा पानीमा रहने ब्याक्टेरिया ९९ प्रतिशतसम्म नष्ट हुन्छ र पानीको रङ पनि २५ प्रतिशत घट्छ । यसरी शुद्धिकरण गरिएको पानीलाई पुन अर्को ट्याङ्कीमा खसालिन्छ र क्लोरिनेशन गरिन्छ । पानीमा बाँकी रहने ब्याक्टेरिया र अनावश्यक केमिकल हटाउन नियमित रुपमा क्लोरिन र ब्लिचिङ पाउडर राखिन्छ । पानीलाई शुद्ध गराउँदै चार चरणसम्म आइपुग्दा पानी सत प्रतिशत शुद्ध हुने इन्जिनियर अर्यालले वताए ।

अहिले खानेपानी गुणस्तर सुधार आयोजना सम्पन्न भइ घरघरका धारामा सुद्ध र सफा पानी र्झन थाले पछि उपभोक्ताहरु पनि निकै खुशी भएका छन् । यस आयोजनाबाट लमजुङ सदरमुकाम बेसीसहरका झण्डै २५ हजार मानिसहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । आयोजना सम्पन्न भएर हाल टेष्टिङमा क्रममा रहेको र बेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका तेस्रो अधिवेशनका अवसरमा आयोजनाको उद्घाटन गरिने बेसीसहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बामदेव अधिकारीले वताएकाछन् ।
बेसीशहरका बासीन्दाले अबको १५ बर्षम्म यो आयोजनाबाट निर्धक्क शुद्ध खानेपानी प्राप्त गर्न सक्ने बताइएको छ ।






Mail to: आश गुरुङ 'प्रतीक'
Posted on:November 30, 2010, 6:26 am

No comments:

Post a Comment