Monday, June 27, 2011

संचारकर्मी र अधिकारकर्मीलाई सूचना संकलनमा रोक

आश गुरुङ,
लमजुङ, असार ५ गते । लमजुङ उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मत परिणामको समाचार संकलन गर्न गएका संचारकर्मी एवं मानव अधिकारकर्मीलाई समाचार संकलनमा रोक लगाएको छ ।

निर्वाचन मण्डलका संयोजक यज्ञ पौडेलको निर्देशन र उनीहरुबीच सहमति भएको भन्दै आयोजक र प्रहरीले आज आईतवार संचारकर्मी साथै अधिकारकर्मीलाई गेटभित्र छिर्न दिएनन् ।

जिल्ला विकास समितिको कार्यालयमा रहेका संचारकर्मीहरु मतगणना भईरहेको स्थल जिविस हलभित्र जान खोज्दा प्रहरीले माथिको निर्देशन भन्दै गेटबाहिर निकालेका थिए । नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष कृष्ण केसीले निर्वाचन मण्डल र प्रहरीलाई पटक-पटक भित्र जान अनुरोध गरेपनि संचारकर्मी र मानवअधिकारकर्मीलाई भित्र जान नदिएको वताए । 'अझैपनि पत्रकारहरुलाई तत्कालीन शाही शासनकाल झैँ गरिएको छ' अध्यक्ष केसीले भने, 'यो निन्दनीय कार्य हो ।' मानवअधिकारकर्मी एवं इन्सेक लमजुङका प्रतिनिधि कृष्णप्रसाद अधिकारीले संचारकर्मीलाई समाचार संकलनमा रोक लगाएकोमा आपत्ति जनाए ।

यसैगरि, प्रेस युनियनका केन्द्रीय सदस्य मिलन शर्मा दनाइँ, प्रेस चौतारी लमजुङका अध्यक्षर् इश्वर पाण्डे, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष बासुदेव थापाले पनि मतगणनाको समाचार संकलन गर्न नदिएकोमा आपत्ति जनाएकाछन् । निर्वाचन मण्डलले संचारकर्मी र अधिकारकर्मीको अनुरोधपछि एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले समर्थित पत्रकार संगठनवाट १/१ जना प्रतिनिधिलाई भित्र बोलाएपछि लमजुङका सवै पत्रकारले कार्यक्रम समेत बहिस्कार गरेकाछन् ।
Journalist-and-Local

Posted on:June 19, 2011, 7:08 am

No comments:

Post a Comment