Saturday, June 25, 2011

लमजुङको पाखाथोक नेपालकै तेस्रो जैविक गाउँ

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, फागुन ३० गते ।
लमजुङको गाउँशहर गाउँ विकास समिति वडा नम्बर ८ पाखाथोकलाई आज सोमवार जैविक गाउँ -द्यष्य खष्ििबनभ) घोषणा गरिएको छ ।
जैविक गाउँ घोषणा भएपछि लमजुङको पाखाथोक नेपालकै तेस्रो जैविक गाउँ बनेको छ ।
कृषि, पशुपालन र ब्यवसायिक तरकारी खेतीलाई बातावरण मैत्री बनाउँदै स्थानीयवासिन्दाको जीवनस्तर उकास्ने अभियानका साथ गाउँलाई औपचारिक रुपमा जैविक गाउँ घोषणा गरिएको हो ।

गाउँमा रहेको ३५ घरधुरीलाई समावेश गरिएको जैविक गाउँ बनाउने अभियानमा विज्ञान तथा वातारण मन्त्रालय, जिल्ला विकास समिति लमजुङ र जिल्ला कृषि विकास कार्यालयले सहयोग गरेका छन् ।

नेपालमा सरकारी प्रयासबाट यस अघि धादिङ जिल्लाको चैनपुर गाविसको हुलाक भञ्याङ र रामेछापको खिम्तीलाई जैविक गाउँ घोषणा गरिएको छ ।

जैविक गाउँ घोषणा भएपछि वातारण मैत्री बनाउँदै स्थानीयबासिन्दाको जिवनस्तर उकास्न उदेश्यले च्याउ खेती, तरकारी र मौरीपालन ब्यवसायलाई थप ब्यवस्थित बनाउँदै अगाडि बढाउने अभियान थालिएको छ । अभियानमा आवश्यक औजार र सामाग्री विज्ञान तथा प्रविधि मन्त्रालयले सहयोग गरेको छ ।

स्थानीय दीपज्योति सहकारी संस्थाको आयोजनामा भएको जैविक गाउँ घोषणा कार्यक्रमको औपचारिक रुपमा प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले एक कार्यक्रमका बिच उद्घाटन गरेकाछन् ।

जैविक गाउँको अभियानले निर्वाहमुखी कृषि पेशालाई ब्यवसायिक बनाउन, थौरै लगानीबाट बढि आम्दानी लिन र स्थानीयस्रोत तथा साधनलाई अधिकतम उपयोग गर्न सहयोग पुर्‍याउने बिज्ञान तथा प्रविधि मन्त्रालयका बाली संरक्षण अधिकृत पदमराज देवकोटाले बताए ।
जैविक गाउँ घोषणाको खुशीयालीमा एकीकृत नेकपा माओवादी तमूवान राज्य समितिका सदस्य राजु थापा, स्थानीय विकास अधिकारी उत्तमप्रसाद नागिला, जिल्ला कृषि विकास कार्यालयका प्रमुख किशोर पन्त, पशुसेवा कार्यालयका प्रमुख डा. अमृतकुमार कुमार मास्के, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष कृष्ण के.सी., लमजुङ उद्योग बाणिज्य संघका उप-महासचिव राजेश थापा लगायतले शुभकामना दिएका थिए ।

दीपज्योति सहकारी संस्थाका अध्यक्ष डिल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय महिला समुहले गाउँ जैविक गाउँ भएको खुशीयालीमा गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

तस्वीरमा आफ्नो गाउँलाई जैविक गाउँ घोषणा गरिएको खुशीयालीमा गीत तथा नृत्य प्रस्तुत गर्दै महिला समुह लगायत । तस्वीर सौजन्य ः कृष्ण केसी





Posted on:March 14, 2011, 6:50 am

No comments:

Post a Comment