Monday, June 20, 2011

लमजुङमा तिहार मनाईयो

आश गुरुङ 'प्रतीक'
लमजुङ, कार्तिक २२ गते ।
लमजुङमा यसपटक तिहार धुमधामका साथ मनाईएको छ । तिहारको अन्तिम दिन भार्इटीका आईतवार दिदीबहिनीहरुले दाज्युभाइलाई टीका लगाएर उल्लासमय तवरले मनाएकाछन् ।

विगतका वर्षहरुमा जस्तै यसवर्षपनि स्थानीयवासिन्दाले आ-आफ्नो गच्छेअनुसार भाईटीका अर्थात तिहार मनाएका हुन् । लमजुङमा दिदीबहिनीहरुले दाज्युभाइलाई फलफूल, सेल रोटी साथै मीठामीठा खानेकुार र उपहार दिने चलन छ । दाज्युभाइले पनि आफ्नो गच्छे अनुसार रुपैँया अर्थात उपहार दिन्छन् । तर, गुरुङ गाउँमा भने अलि फरक छ । गुरुङ गाउँमा भाइखलकहरु एकठाउँमा जम्मा भएकाछन् र त्यहीँ दिदीबहिनी पुगेर टिका लगाउने र वर्षभरिको दुःखसुख साटासाट गर्ने चलन छ । दिदीबहिनीले सेलरोटी र गाउँमा निर्मित स्थानीय मदिरा दिएर दाज्युभाइको उत्तरोत्तर र दीर्घायूको कामना गर्छन् ।


तिहारको समय के बालबालिका, के बृद्धबृद्धा, कोही पिङमा झुण्डिरहेकाछन् त कोही देउसी भैलोमा झुमेकाछन् । शहर-वजार, गाउँ टोल जता ततै स-साना केटा केटी देखि लिएर ठूला उमेरकाहरु प्रायः देउसीभैलो खेल्न मस्त छन् । देउसी भैलौको रौनकले शहर वजार तथा गाउँ टोल संगीतमय छ ।

देउसी भैलो खेल्ने उनीहरुका उद्देश्य पनि फरकफरक छन् । केटाकेटीहरु रमार्इलोका लागि खेलेकाछन् भने पाको उमेर समूहकाहरु संकलित रकमवाट विकास निर्माणका लागि देउसी भैलो खेलेकाछन् । विशेष गरि युवा युवतीहरु देउसी भैलो खेलेर संकलन गरेको रकमबाट आफ्नो क्लबका लागि केही गर्न चाहन्छन् ।

तिहारको समय लमजुङमा देउसीभैलो खेल्नेहरुको भीड नै लागेको छ । देउसीभैलो खेल्ने क्रम अझै जारी छ । केही वर्ष यता मौलाउँदै गएको देउसी भैलो खेल्ने संस्कृतिहरुलाई लमजुङका बासिन्दाले 'फेसनेवल' भएको टिकाटिप्पणी समेत गर्न थालेकाछन् । तिहारमा लमजुङ सदरमुकाम वेसीशहर तथा ग्रामीण क्षेत्रमा जुवातास, लंगुरबुर्जा तथा जाँडरक्सीले निकै महत्व पायो । जिल्ला प्रशासन कार्यालयले जुवातास खेल्ने, जाँडरक्सी खाएर हो-हल्ला गर्ने, पटका पडकाउनेलाई कार्वाही गर्ने चेतावनी दिएपनि कार्यन्वयन भने हुन सकेन ।


लमजुङका गाउँटोल अनि शहरबजारमा रोटेपिङ र लिङ्गे पिङहरुमा पनि छुट्टै रौनक छ । देउराली-भञ्ज्याङ, चौतारी साथै गुरुङ गाउँका रोधीँहरुमा मादल र वाँसुरीको रन्को छ । गाउँ टोलका गल्लीहरु पनि सरसफाइले सुन्दर देखिएको छ । घरहरु अघिपछि भन्दा दुलही झैँ सिङ्गारिएका छन् । त्यही भएर त होला लटरम्म फुलेका सयपत्री र मखमली फूलको वस्नाले त तिहारलाई झनै रमाइलो वनाएको आभाष भएको छ । साँझ पख वत्तिको झिलीमिलीसँगै देउसी भैलो खेल्नेहरुको नाचगानले त झनै तिहारको रौनकनै चुलिएको छ ।

त्यसो त तिहार भन्नासाथ जुवा तास खेल्नेहरुको संख्या पनि कम छैन । जुवा तास खेलेर तिहार मनाउनुको साटो देउसी भैलो खेलेर तिहार मनाउन राम्रो हुने देउसी पाराखीहरु वताउँछन् । त्यसैले तिहारमा जुवातास खेलेर दिनचर्या विताउनु भन्दा देउसी खेलेर रमाईलो गर्नुनै उचित ठान्छन् उनीहरु । यसले गर्दा एकातिर आफ्नो संस्कृति पनि जोगिन्छ, अर्कोतर्फ धनको नाश साथै विकृति र विसंगतिको शिकारबाट जोगिन थप मद्यत पुग्छ ।








Mail to: आश गुरुङ 'प्रतीक'
Posted on:November 8, 2010, 2:45 am

No comments:

Post a Comment