Tuesday, May 17, 2011

भ्रष्टाचारी, दलाली र सामन्तीलाई कार्वाही गर्छौ अध्यक्ष वस्नेत

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस १२ गते ।
Mahesh Basnetनेकपा एमालेनिकट युथ फोर्सका केन्द्रीय संयोजक महेश बस्नेतले भ्रष्टाचारी, दलाली र सामन्तीलाई कार्वाही गरेरै छाड्ने वताउनुभएको छ ।
प्रजातान्त्रिक राष्ट्रिय युवा संघ लमजुङको सातौ जिल्ला सम्मेलनको सदरमुकाम वेसीशहरमा आज शनिवार उद्घाटन गर्दै वस्नेतले राष्ट्रको विकास गर्न र समाजलाई सम्मुनत बनाउन देशद्रोहीलाई समाप्त पार्ने समेत वताउनुभयो । समाज निर्माणका क्रममा आफ्ना संगठनमाथि जाग्नेलाई प्रतिकार गर्नपनि तयार रहेको वताउँदै वस्नेतले भन्नुभयो, 'आफूमाथि जाईलाग्नेमाथि प्रतिकार गर्दा जो कसैको मृत्यू भएमा त्यसको जिम्मेवारी युथफोर्सले लिन्छ ।'
केही दिनअघि राजधानीमा आयोजना गरिएको एक कार्यक्रमा परिआए पिट्न तथा मार्न पनि पछि नपर्ने वताउनुभएका बस्नेतले लमजुङमा पनि सो कुरालाई दोहोर्‍याउँदै भन्नुभयो, 'एमाले पार्टी र कायकर्तामाथि कसैले आक्रमण गर्छ भने युथ फोर्स हेरेर बस्न सक्दैन, प्रतिकारमा उत्रिएर ठोकिहाल्छ ।' एमालेको विचार तथा नेताकार्यकर्ताको रक्षा गर्नु युथफोर्सको पहिलो दायित्व भएको वताउँदै एमालेमाथि कसैले एक पटक हिर्काए दुई पटक हिर्काउने, एउटा हात भाँचे दुईवटा हात भाँचिदिने र मार्‍यो भने मारिदने समेत वताउनुभयो ।
'प्रतिकारका लागि कुट्ने पिट्ने र मार्ने सम्मको काम गर्न युथ फोर्स पछि पर्दैन, ज्यान, सम्पति र सतित्वको रक्षा गर्दा मान्छे मरेमा सजाय लाग्दैन' बस्नेतले भन्नुभयो, 'प्रतिकारमा कोही युवा डराउनुपर्दैन साथमा हामी छौ, मिलाएर ठोके हुन्छ ।' उपस्थित युवाहरुलाई प्रतिकारमा उत्रन आग्रह गर्दे युथफोर्सका संयोजक बस्नेतले आइलाग्ने माथि टुलुटुलु हेरेर नबस्न समेत आग्रह गर्नुभयो ।
'कुट्दा अलि मिलाएर हिर्काउनुहोला, नाक मुखमा हान्दा काट्ने र रगत आउने हुँदा मानवअधिकारकर्मीले विरोध गर्छन्, प्रेसमा ठुला समाचार आउँछन्, झट्ट नदेखिने ठाँउमा मिलाएर कुट्नुस्, दुई चार झ्यापु हान्दैमा कानुन लाग्दैन ।' युवाहरुलाई उत्साहित पार्दै वस्नेतले भन्नुभयो, 'कानुनलाई हातमा लिएर भन्दा साथमा लिएर प्रतिकार गर्नुपर्छ, एउटा हातले कानुन मिच्दैनौ भन्दै अर्को हातले पिटे हुन्छ ।' बस्नेतले अभियानको सुरुवात पार्टी भित्रका भ्रष्ट, तस्कर र फटाहाको खोजी गरी उनीहरुलाई गलत्याएर छाडिने वताउनुभयो । एमालेको नाम लिएर धेरै भ्रष्ट, तस्कर र फटाहाहरुले फाइदा लिइरहेको भन्दै वस्नेतले भन्नुभयो, 'त्यस्तालाई कारबाही गरेर पार्टी सुद्धीकरण गर्न युथफोर्स लाग्ने छ ।' कार्यक्रममा प्रारायूसंघका सचिवालय सदस्य तथा तथा गण्डकी अञ्चल ईन्चार्ज राजीव पाहारीले पत्रकारलाई कुट्न लगाउने गृहमन्त्री बामदेव गौतमले तत्काल राजीनामा दिनुपर्ने वताउनुभयो । एमाले सरकारको साक्षीमात्रै वस्न गएको भन्दै माओवादी नेतृत्वको सरकारले मुलुकमा खासै परिवर्तन ल्याउन नसकेको आरोप लगाउनुभयो ।
कार्यक्रममा कार्यक्रममा प्ररायूसंघ गण्डकी अञ्चल महिला विभाग प्रमुख शर्मिला पौडेल, प्ररायूसंघ गण्डकी अञ्चल सचिव जीवन आचार्य, नेकपा एमाले लमजुङका सचिब मायानाथ अधिकारी, सदस्य शुभाष पौडेल लगायतले मन्तब्य राखेका थिए ।

Posted on:December 27, 2008, 7:17 am

No comments:

Post a Comment