Monday, June 6, 2011

लमजुङमा यस वर्ष २० देखि २५ प्रतिशतले सुन्तला उत्पादनमा कमी

आश गुरुङ 'प्रतीक'
लमजुङ, कार्तिक १५ गते ।
लमजुङमा यस बर्ष सुन्तला उत्पादनमा २० देखि २५ प्रतिशतले कमि आउने भएको छ ।
सुन्तलाको पकेट क्षेत्र भनेर चिनिने चिति, उदिपुर, राईनास मोहोरिकोट, दुराडाँडा, कुन्छा, तार्कु, भोर्लेटार, खुदी, भुलभुले, सिम्पानी, बाँझाखेत लगायतका गाविसहरुमा गरेको एक सर्वेक्षण अनुसार यस वर्ष सुन्तला उत्पादन घटेको पाईएको हो ।
जिल्ला कृषि विकास कार्यायलय लमजुङका अनुसार सुन्तलाको सर्वेक्षणमा ग्रिनिङ भाइरस रोगका कारण सुन्तलाको बोटहरु मरेपछि यसको उत्पादनमा गिरावट आएको हो । ग्रिनिङ भाइरसका कारण सुन्तलाको बोट मर्ने, पात पहेलो हुँदै जाने, जरा कुहिने, फल पातलो र दाना सानो लाग्ने समस्या अत्याधिक देखिएको कृषि विकास कार्यालय लमजुङका सिताराम घिमिरेले बताउनुभयो । उत्पादन घट्ने मात्र नभएर सुन्तलाको बोट नै सखाप भएर मर्न थालेपछि केहीवर्ष यता लमजुङका सुन्तला कृषकहरु चिन्तित बनेकाछन् ।
लमजुङमा १४ हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिदै आएको छ । लमजुङमा गत वर्ष १३ हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।


मोहोरियाकोटका कृषक कृष्णराज ओलियाले बगैचामा सुन्तलाको बोटहरु सखापै भएर मर्न लागेकोले यसवर्ष आफ्नो सुन्तला उत्पादनमा कम्तीमा पनि २५ प्रतिशत सुन्तला उत्पादनमा कमी आउने वताउनुभयो । विगतका वर्षहरुमा सुन्तलाबाट तीनलाख रुपैँयासम्म सजिलै कमाउदै आएका व्यवसायिक किसान ओलिया मात्र होइन चितिका रमेश पन्त लगायत धेरै व्यवसायिक सुन्तला किसानहरु अहिले निरास बनेका छन् ।
भाइरस नियन्त्रणका लागि बोट फाड्ने र अन्य औषधी प्रयोग गरेपनि रोग नियन्त्रण हुन नसकेको उनीहरुको दुखेसो छ । यसले गर्दा अगामी बर्षहरुमा झन् उत्पादन घट्ने चिन्ता चितिका किसान राम बहादुर भण्डारीले व्यक्त गर्नुभयो । यता कृषि कार्यालयका वरिष्ठ बागवानी अधिकृत डोलकृष्ण सुवेदीले लमजुङमा मात्रै नभएर अन्य जिल्लाहरुमा समेत भाइरसका कारण महामारीकै रुपमा सुन्तला उत्पादनमा कमि आएको बताउनुभयो ।



तस्वीरमाः ग्रिनिङ भाईरसका कारण लमजुङको चितीस्थित स्याउतमा सुकेको सुन्तलाको बोट ।

तस्वीरः आश गुरुङ 'प्रतीक'

Posted on:November 1, 2009, 10:48 am

No comments:

Post a Comment