Sunday, June 19, 2011

लमजुङका प्रहरी विद्यार्थीलाई पढाउँदै

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, साउन १४ गते ।
कक्षा शिक्षक कुरेर वसेका विद्यार्थीहरु एक्कासी बर्दीधारी प्रहरी पुगेपछि दंगमात्रै परेनन्, आर्श्चर्यचकित भए ।
पोषाकमा सजिएका युवायुवतीहरु आफ्नै कक्षाभित्र पुरुष तथा महिला बर्दीधारी प्रहरी देखेपछि डर पनि लाग्दै थियो । प्रहरी पुग्नासाथ कक्षाकोठामा हल्लागरि बसेका विद्यार्थीहरु चुपचाप बस्न थाले । उनीहरुको मुहार विस्तारै मलिन हुँदै गयो तब, जिल्ला प्रहरी कार्यालयवाट कक्षा कोठामा पुगेका प्रहरी नायब उपरीक्षक कृष्णहरि शर्माले विद्यार्थीलाई भने, 'डराउनु पर्दैन, हामी तपाइँहरुसंग सहकार्य गर्न आएका हौँ ।'
शर्माले विद्यार्थीलाई लक्षित गरि केही बोल्न थालेपछि उनीहरु पनि ध्यानकेन्द्रीत हुन थाल्यो ।

लमजुङ सदरमुकाम वेसीशहरको जनविकास उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रवार झण्डै ७ जना प्रहरीले पढाएका थिए । प्रहरीले पहिलोपटक कक्षा लिँदा विद्यार्थीहरुले केही रमाईलोको महसुस गरे त केही अप्ठ्यारोको पनि । तर, सहजरुपमा प्रहरीले विद्यार्थीलाई पठाउँदै गएपछि उनीहरुले प्रहरीलाई धन्यावाद मात्रै दिएनन्, फेरि फेरि यस्ता कार्यक्रम लिएर आउन आग्रह समेत गरे । सहभागि विद्यार्थी मीना गुरुङले आफ्नो गाउँठाउँका वासिन्दा यस्ता कुरावाट टाढा रहेकाले सिक्ने मौका पाएकोमा खुसी ब्यक्त गरिन् । प्रहरीलाई अपराध नियन्त्रण गर्न सक्दो सहयोग गर्ने उनको भनाई छ ।

विद्यालयमा प्रहरीले प्रहरीको काम कार्वाही, शान्ति सुरक्षा ब्यवस्थापन, अपराध नियन्त्रण तथा रोकथाम, महिला तथा बालवालिका लगायतका विषयवस्तु जानकारी गराएका थिए । 'प्रहरी र विद्यार्थीबीचको संवन्ध सुमधुर बनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको हो' प्रहरी नायब उपरीक्षक शर्माले भने, 'समाजका सक्षम बर्ग युवाशक्ति भएकाले हाम्रो पहिलो रोजाइ प्लस टुका विद्यार्थी बन्यो ।' उनले सदरमुकामको जनविकासमा मात्रै नभएर लमजुङका सवै उच्च माविमा यस्तो कार्यक्रम संचालन गर्ने जानकारी दिए ।

जनविकास उच्च माविको एउटा कोठामा आयोजना गरिएको 'प्रहरी विद्यालय सर्म्पर्क कार्यक्रम' अन्तरगतको सिकाई कार्यक्रममा एकसयबढी विद्यार्थीहरुलाई प्रहरीले पढाएका थिए । प्रहरी नायब उपरीक्षक शर्मा, प्रहरी नायब निरीक्षक राजु शर्मा, महिला प्रहरी जवान अलिसा आले लगायतले विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयवाट तयार पारिएको पाठ्यवस्तु प्रस्तुत गरेका थिए । विद्यार्थीसंगै प्रहरीले सिकाएका कुरालाई विद्यालयका शिक्षक तथा प्राध्यापकहरुले पनि ध्यान दिएर सुनिरहेका थिए । गाउँगाउँमा रहेको उच्च माविमा यस्ता कार्यक्रम लिएर जाँदा स्थानीयवासिन्दालाई पनि उल्लेख्यमात्रामा सहभागिता गराउने प्रहरीले जनाएको छ ।

प्रहरीले यस्तो कार्यक्रम संचालन गरेको संभवत यो पहिलो कार्यक्रम हो । पछिल्लोपटक प्रहरी नायब उपरीक्षक हरिकृष्ण शर्मा लमजुङ सरुवा भएर आएपछि उनले स्थानीयवासिन्दोका मन जित्ने काम गर्दै आएको र्सवसाधारणको भनाई छ ।









Posted on:July 30, 2010, 11:32 pm

No comments:

Post a Comment