Monday, June 20, 2011

दशैँका लागि च्याउ खोज्न लमजुङका वासिन्दा जंगलतिर

आश गुरुङ 'प्रतीक'
लमजुङ, असोज २१ गते ।
दशैँको आगमनसंगै लमजुङको उच्च लेकाली क्षेत्रका जंगलहरुमा अहिले च्याउ टिप्नेहरुको भीड लागेको छ ।
दशैँमा तरकारीको रुपमा च्याउको प्रयोग र मासु नखानेले च्याउ खाने भएकाले च्याउ टिप्ने मौसम शुरु हुनासाथ गाउँगाउँका वासिन्दा गोठ तथा ओडारमा वसेर च्याउ टिप्न लागेका हुन् ।

उत्तरी लमजुङको खुदी, भुलभुले, उस्ता, बाहुनडाँडा, घेर्मु, ताघ्रिङ गाविस तथा उत्तरपश्चिम लमजुङको भुजुङ, पसगाउँ, घनपोखरा, घलेगाउँ लगायत गाविसका वासिन्दा अहिले उच्च लेकाली क्षेत्रमा च्याउ टिप्न गएका छन् । च्याउ टिप्नका लागि लमजुङका मात्रै नभएर तल्लोमनाङ र कास्कीको ताङतिङ र सिक्लेसगाउँका वासिन्दा पनि लेकलेकमा जाने गरेका छन् ।

च्याउ टिप्नका लागि प्रायः मात्रामा युवायुवतीहरुको भीड छ । उनीहरुले बन र च्याउ नचिनेका कारण युवायुवतीहरु भन्दा पाको उमेरकाले 'गाईड' गरेकाछन् । एक दिन मात्रै वास वसेर दुर्इ डोकोसम्म च्याउ ल्याउने गरेका भुजुङका मुनबहादुर गुरुङले वताए ।


जंगली च्याउ विशेषगरि तरकारीका लागि प्रयोग हुन्छ । मासुको स्वादमा पाइने च्याउवाट वर्षोनी मासिनसहरुको ज्यान गएको भन्ने कुरालाई स्थानीयावसिन्दा सोझै खण्डन गर्छन् । 'परापूर्वकालदेखि जंगली च्याउ खाँदै आएको हाम्रो परिवार अहिलेसम्म केही भएको छैन, 'भुलभुलेका एक बृद्वाले भने, 'च्याउ चिनेर खानुपर्छ, केही पनि हुँदैन ।' च्याउ नचिनीकन खाएमा बिष सरह हुने उनको भनाई छ ।

च्याउलाई पछिल्लोपटक स्थानीयावसिन्दाले विक्रीवितरण समेत गर्न थालेका छन् । जंगलवाट खोजेर घरमा ल्याउने र सुकाएर बेच्ने गरेको सिउरुङका उमरबहादुर गुरुङले वताए । उनका अनुसार गरीबहरुले च्याउ बेचेर धेरै आम्दानी समेत गरेका छन् । लमजुङको लेकाली जंगलहरुमा ६/७ थरीका खाना मिल्ने च्याउ पाईने च्याउ टिप्न गएकाहरु वताउँछन् ।


लमजुङको जंगलमा पाईने च्याउ भनेपछि शहरबजारका मानिसहरु हुरुक्कै हुन्छन् । 'वर्षा एकपटक गाउँवाट ल्याएको च्याउ नखाए मनमा केही अड्केको जस्तो हुन्छ' वेसीशहरका तिलबहादुर गुरुङले भने, 'च्याउ खान नपाएपछि गाउँमा भएका आफन्तसंग कुरा गर्छु, घरमै ल्याईदिन्छन् ।'

लमजुङको लेकहरुमा २३ सय मीटरदेखि ३५ सय मीटरको उचाईका बीचमा जंगली च्याउ पाईन्छ । विशेषगरि औँसी र पूणिर्मा ताका पाईने जंगली च्याउ विशेषगरि भदौ, असोज र कार्तिक महिनमा उम्रने गर्दछ । वर्षोनी धेरैमात्रामा च्याउ उम्रिएपनि त्यसको ब्यवस्थापन नहुँदा त्यतिकै खेर गईरहेको स्थानीयवासिन्दा वताउँछन् । जंगली च्याउको मात्र ब्यवस्थापन हुन सके लमजुङका वासिन्दाको आर्थिक स्थिति सुध्रिने जानकारहरु वताउँछन् ।





नाङ्लोभरि च्याउः जंगलवाट खोजेर ल्याएको च्याउ नाङ्लोमा राखेर केलाउँदै भुजुङ कमागाउँका एक महिला ।

तस्वीरः आश गुरुङ 'प्रतीक'

Posted on:October 7, 2010, 3:29 am

No comments:

Post a Comment