आश गुरुङ 'प्रतीक'

अन्तराष्ट्रिय विदेश प्रकृति संरक्षण संघले अत्यान्तै लोपुन्मुख श्रेणीमा राखेको बहुमुल्य जडिवुटी कुट्कीलाई अबैध रुपमा संकलन गरिरहेका १२ महिलासहित १४ जनालाई लमजुङका प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको छ ।
गोरखा जिल्ला लाप्राक गाउँ विकास समितिका १३ र लमजुङका एकजनालाई प्रहरीले लमजुङको बन्सार गाउँ विकास समिति वडा नं. ५, हिलेवेसीवाट हिजो पक्राउ गरि गएराती जिल्ला प्रहरी कार्यालयमा ल्याएको हो ।

गोरखा बजारमा वसोवास गर्ने जडिवुटीका ठेकेदार दीपक पाण्डेको निर्देशनमा २२ दिनदेखि लमजुङको ढोडेनीस्थित उच्च भेगको जंगलमा जडिवुटी संकलन गरि र्फकने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरुवाट करीब चारसय किलोग्राम कुट्की समेत बरामद गरेको छ । प्रति किलो १० रुपैँया सरकारी राजस्व तोकिएको कुट्कीको बजारी मुल्य तीनसय ५० देखि चारसय रुपैँयासम्म पर्दछ । समुन्द्री सतहदेखि तीनहजार देखि चारहजार मीटरसम्म पाईने कुट्की ज्वरो, रुघाखोकी, कमलपित्त, निमोनिया, सुगर लगायत २० भन्दा बढी रोगहरुको निदानका लागि औषधीको रुपमा प्रयोग गरिने जडिवुटी भएको जिल्ला बन अधिकृत रामकाजी श्रेष्ठले वताउनुभयो ।

जिल्ला बन कार्यालयका सातजना कर्मचारी र चिती प्रहरी चौकीवाट खटिएका तीनजना प्रहरीले कुट्कीलाई कब्जामा लिएपनि सदरमुकाम ल्याउन नसकेका कारण प्रहरी निरीक्षक बसन्त रञ्जितकारको नेतृत्वमा थप २० जना प्रहरी खटाएर ल्याईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ गरिएकाहरुलाई बन ऐन अन्तरगत कानुनी कार्वाही गरिने जिल्ला बन कार्यालयले जनाएको छ ।
Posted on:September 20, 2009, 12:22 am
No comments:
Post a Comment